आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै
ललितपुर । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) को रथयात्रा सुरु हुँदैछ।  

ललितपुरको दमकल चोकमा निर्माण गरिएको रातो मच्छिन्द्रनाथको रथलाई बुधबार दिउँसो ४ बजे तान्न सुरु गर्ने तयारी छ।दिउँसो पाटनका ९ टोलका धिमे बाजा टोली भेला भई बाजागाजासहित रथ तान्ने तयारी गरिएको नाःटोल मंकाखलका अध्यक्ष कदमलाल महर्जनले जानकारी दिए। आज रथलाई दमकल चोकबाट तानेर गाःबहाल पु¥याइनेछ। रातो मच्छिन्द्र नाथलाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ। यसअघिका दुई वर्ष कोरोना संक्रमणको कारण रातो मच्छिन्द्रनाथको रथयात्रा प्रभावित बनेको थियो।

वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यो यात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ।मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने परंपरा छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पु¥याएर भोटो देखाइन्छ।