चाड पर्व लक्षित विशेष अप्रेसन : यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ


खबरस्टोरी संवाददाता
२५ आश्विन २०७८, सोमबार
चाड पर्व लक्षित विशेष अप्रेसन : यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

काठमाडौँ।  उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा सोमवार बिहान ट्राफिक प्रहरीले  ७ जनालाई नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने सात जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उक्त आरोपमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क- ३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा, कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा पक्राउ परेका हुन्। पक्राउ पर्ने अभियुक्तहरुलाईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको छ ।

दशैंतिहार मनाउन घर जानेहरूको अरु समयमाभन्दा यतिखेर बढीनै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी  दिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन अन्तर्गत यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, दोब्बरभाडामा टिकट काट्नेलगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायताकक्षबाट सादापोशाकमा प्रहरी टोली परिचालन गरी आफैं यात्रु बनेर कारवाही अभियान चलाइरहेको बताएको छ।