होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई आज बुधबार व्रिफिङ्ग समेत गरेका छन् । “फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।” एसएसपी उमेश राज जोशीले भने, “बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।”
उच्श्रृंखल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ ।
फागु पूर्णिमा (होली) को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।