काठमाडौँ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारीसाधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तीव्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ४१ जना र क्षमताभन्दा बढी यात्रु बोक्ने ३३ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।