मेरो कार्यकालमा कोही लालपूर्जाविहिन हुने छैनन्ः हरी न्यौपाने


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
मेरो कार्यकालमा कोही लालपूर्जाविहिन हुने छैनन्ः हरी न्यौपाने
नवलपरासीपूर्व देवचुली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट हरीप्रसाद न्यौपाने निर्वाचित भए । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सशांक कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेको देवचुलीको स्थानीय सरकारको नेतृत्व सम्हाल्न आइपुगेका नगरपालिका प्रमुख न्यौपानेसँग स्थानीय सरोकारका विषयमा केन्द्रित रहेर गरेको कुराकानी प्रस्तुत गरेका छौं ।  

देवचुली नगरपालिकाको प्रमुख निर्वाचित हुनु भएको छ । सर्वप्रथम नगरपालिकाको कार्यभार सम्हाल्दै गर्दा नगरको सम्भावना र विकाशका प्राथमिकताहरु के देख्नु भएको छ ? 

खासगरी अघिल्लो जनप्रतिनिधिले गरेका राम्रा र अधुरा रहेका महत्वपूर्ण कामहरुलाई पूरा गर्ने मेरो पहिलो प्राथमिकता हो । शिक्षा, स्वस्थ्य, रोजगारका साथै बालबालिका क्षेत्रमा केही मनोरन्जनतर्फ जोड दिने खालका योजनाका साथै कभर्ड हाउस, ग्रीन पार्क निर्माण लगायतको काम गर्ने योजना बनाएका छौं । सँगसँगै यो पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटन प्रवद्र्धनका सन्दर्भमा केही कामहरु गर्नुपर्ने ठानेका छौं । पर्यटनका साथै होमस्टेको सम्भावना पनि उत्तिकै रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने योजना हामीले बनाउँदै छौं । 

अघिल्लो ५ वर्षको अवधिमा जनप्रतिनिधिले गर्न नसकेको महत्वपूर्ण कामहरु, जो तपाईँका नजरले देखेका छन्, ती के हुन् ? 

अघिल्लो कार्यकालमा नबिनतम कामहरु केही पनि देखिदैनन् । बाटाघाटा, कालोपत्रे, ग्राभेल आदि इत्यादी कामहरु पनि न्यून मात्रै देखिएका छन् । अहिलेको आवश्यकता अनुसारका नविनतम कामहरु भएको देवचुलीबासीले महशुस गर्न पाएका छैनन् । देवचुलीवासीले अपेक्षा गरेअनुसकार कामहरु गर्नका लागि हामीले मसिनो गरी योजनाबद्ध ढंगले लाग्दैछौं । के गर्दा जनता सुखी र खुशी हुन्छन् र जनताको समस्या समाधान हुन्छ त्यसैअनुरुप परिणाममुखी बनाउने कुरामा हामी तत्पर छांै ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सशांक कोइरालाको क्षेत्रसमेत पर्ने यो पालिकामा कांग्रेसलाई हराएर तपाईहरुलाई जनताले विश्वास गरेका छन् । तपाईँ त्यस्तो नबिनतम, काम के गर्नु हुन्छ होला ? 

यो एकदमै महत्वपूर्ण कुरा हो । हामीलाई निकै चुनौति छ । माननीय सशांक कोइराला पटक पटक निर्वाचित हुनु भएको यो क्षेत्रमा अहिले हामीले स्थानीय सरकारको कार्यभार सम्हाल्ने मौका हामीले पाएका छौं । हामीले यहाँको साधनस्रोतले भ्याएसम्मको नयाँ योजना तयार बनाएर जनतालाई परिवर्तन र विकासको अनुभूति गराउने कुरामा लाग्छौं ।  माननीय सशांक कोइरालाले गरेको कामको अनुभूमि यहाँका नागरिकले गरिसक्नु भएको छ । उहाँले यहि क्षेत्रबाट तीन तीन पटक निर्वाचित भइसक्दा कति काम गर्नु भयो र जनता कति सन्तुष्ट भए भन्ने कुरा स्पष्ट भइसकेको छ । जनताले आफै बुझ्नु भएको छ । म यसबारेमा उहाँको आलोचना गर्न चाहन्न । त्यसैको विकल्पको रुपमा स्थानीय सरकारका रुपमा म लगायत मेरो टिमलाई जनताले निर्वाचित गर्नु भएको छ । देवचुलीबासीले दिएको मतलाई सम्मान र कदर गर्दै अबको ५ वर्षको कार्यकालमा अतिउत्तम विकासको अनुभूति गराउने गरी म योजना बनाएर लाग्ने छु । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन जस्ता कामहरुमा मैले ध्यान दिनेछु । सँगसँगै वृद्धा, बालबालिका, युवा, अपाङगता भएका नागरिक सबैले अनुभूति गर्ने किसिमका कामहरुमा मेरो ध्यान जानेछ । मेरो आफ्नो समय देवचुलीको विकासको निम्ति अबको पाँच वर्षमा फरक अनुभूति गर्ने गरी म लाग्ने छु । विकासको अनुभूति गराउने कुरामा मेरो आफ्नो प्रतिवद्धता जाहेर गर्न चाहन्छु । 

स्थानीय तहको निर्वाचनअघि नेपालमै पहिलो पटक देवचुली नगरपालिकामा ‘नोट लालपूर्जा नो भोट’ अभियान चलेको थियो । यी सुकुम्बासीको माग सम्बोधन कसरी हुन्छ ? 

देवचुली नगरपालिकाबासीले हामीलाई विश्वास गरी निर्वाचित गराउनु भएकाले नगरपालिकाको पहिलो बैठकबाट नै हामीले लालपूर्जा दिने सन्दर्भमा पहल गर्नेछौं । त्यसका लागि हामी सम्बन्धित निकायमा डेलिगेशन जाने र सरकारलाई छिटो भन्दा छिटो आयोग बनाउनका लागि दबाब दिने पहिलो काम गर्छौं । हामीले जनताको काम गर्नुपर्छ, हामीलाई जनताको दबाब परिरहेको छ । हामी जनताको काम गर्न तत्पर छौं । सँगसँगै देवचुली नगरपालिकाको तर्फबाट त्यस कामका लागि बजेट बिनियोजन गर्नेदेखि आवश्यक प्राविधिक जनशक्तिको ब्यवस्था गरेर अघि बढ्न नगरपालिका तयार छ । हामी आयोगको पर्खाइमा छौं । आयोग छिटो दिनुस् भनेर हामीले विपक्षी दलका नेतालाई पनि गुहारेका छौं । चाडै आयोग दिने वित्तिकै हामी यो काम सूचारु गर्छौं । जनतालाई पूर्जा दिने काममा बर्खा, झरी केही नभनी म नगरपालिकाको प्रमुखको हैसियतले लाग्नेछु । मेरो कार्यकालभित्र यहाँका कुनै पनि नागरिक  लालपूर्जाविहिन हुने छैनन् । जो जहाँ बस्नु भएको छ, त्यही ठाउँको पूर्जा वितरण गर्न नगरपालिका प्रतिवद्ध छ । 

देवचुली नगरपालिकाको केही पहाडी भेगसमेत रहेको हुँदा ती पहाडी भेगका बासिन्दा सधैं उपेक्षित हुने गरेका छन् । उपेक्षित पहाडी भेगका नगरवासीका सन्दर्भमा नगरको योजना के रहन्छ ? 

हो, विगत लामो समयदेखि नगरपालिका भित्रका पहाडी भेगका बासिन्दा उपेक्षित छन् । नगरपालिका भइसकेपछि पनि यहाँका बासिन्दाले नगरपालिकाबाट पाउनुपर्ने न्यूनतम सुविधासमेत पाउन सक्नु भएको छैन । उहाँहरुलाई अहिलेसम्म विकासको अनुभूति हुन सकेको छैन । हामी यस विषयमा गम्भीर छौं । सबै ठाउँमा मोटरेबल बाटो र विभिन्न ठाउँमा पुलहरु निर्माण गर्नेबारेमा योजना बनाउँदैछौं । साथै, पहाडी भेगमा अदुवा, बेसार लगायतका ब्यवसायिक उत्पादन एवम् बाख्रा, बंगुर लगायतका ब्यवसायिक पशुपालन केबाट नगरवासी बढी लाभान्वित हुन्छन्, त्यसबारेमा अध्ययन गरेर कार्ययोजना अघि बढाउने छौं । त्यस क्षेत्रका किसानलाई ब्यवसायीकरण गरेर अघि बढाउने सन्दर्भमा हामी गम्भीर ढंगले लाग्ने छौं । हामी नगरपालिकाभित्रको पहाडी भेगका सबै नागरिकलाई विकास, ब्यवसाय एवम् रोजगारको अनुभूति गराउन पूर्ण प्रतिबद्ध छौं । 

लामो समय ब्यवसायिक रुप पशुपालन गरेर त्यस क्षेत्रमा विज्ञता हासिल गर्नु भएको तपाईँ स्वयं भएकाले ब्यवसायिक किसानको समस्यालाई कसरी सम्बोधन गर्ने सोच्नु भएको छ ? 

अत्यन्तै महत्वपूर्ण कुरा उठाउनु भयो । बास्तवमा म आफै किसान हुँ र किसानको समस्याकाबारेमा जानकार छु । अहिले कृषि क्षेत्र अत्यन्तै जटिल अवस्थामा छ । कतिपय कृषक तथा पशुपालकहरु किसानहरु धारासायी अवस्थामा पुग्नु भएको छ । ब्यवसायिक किसानहरु पलायन हुने अवस्था देखिरहेको छु । ब्यवसायिक किसानहरुलाई पलायन हुनबाट रोक्न र ऊर्जा प्रदान गरी ब्यवसायिक कृषि क्षेत्रमा थप आकर्षित गर्ने कार्यक्रमहरु हामीले अगाडि सार्न जरुरी छ । त्यसकारण के के कुरामा अनुदान दिएर हुन्छ वा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा उहाँहरुसँग नै छलफल तथा अन्तरक्रिया गरी लागत घटाएर फाइदामा लैजाने सन्दर्भमा हामीले महत्वपूर्ण कदम चाल्नेछौं । किसानहरुको भेलाबाट नगरस्तरीय समिति बनाउनुपर्ने मैले आवश्यकता देखेको छु । दूध तथा तरकारी उत्पादन गर्दै आएका ब्यवसायीक किसानहरुको टोलीसँग अन्तरक्रिया गरी अगाडि बढ्ने भन्नेबारेमा हामी लाग्ने छौं । अपेक्षित लाभ लिन नपाएका र ब्यवसायबाट निरुत्साहित हुँदै गएका सबै किसानहरुसँग बसेर थप योजना बनाइ उहाँहरुलाई सफल किसान बनाउने सन्दर्भमा हामी गम्भीर ढंगले अघि बढ्नेछौं । 

देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गर्नेदेखि वातावरण प्रदुषण गर्ने गरेको विषय पनि बारम्बार उठ्ने गरेको छ । विगतका जनप्रतिनिधिहरुले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासोलाई कसरी सम्बोधन गर्नु हुन्छ ? 

देवचुली नगरपालिकाभित्रका सार्वजनिक जग्गामा लामो समयदेखि बस्दै र जग्गा उपभोग गर्दै आएका नागरिकलाई त्यही ठाउँमा पूर्जा उपलब्ध गराउनु पर्छ, त्यसमा हामी प्रतिबद्ध छौं । त्यसबाहेक ब्यवसायीहरुबाट अतिक्रमण गर्दै आएका जमीनहरु भने नगरको स्वामित्वमा रहन्छ । सार्वजनिक जग्गाहरु कुनै उद्योग कलकारखानाले अतिक्रमण गरेको छ भने अतिक्रमण रोक्नका लागि नगरबाट उपयुक्त कदम चाल्ने छौं । 

अर्कोकुरा, उद्योग वरिपरिका बस्तीहरुमा वातावरण प्रदुषण भई नागरिकहरु प्रताडित हुने गरेका छन् । उद्योगले वातावरणीय प्रभाव पारेको भन्दै पीडितका तर्फबाट गठित स्थानीय वातावरणीय समितिबाट आएका गुनासाहरु विगतमा सम्बोधन हुन सकेनन् । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको छ । हामी स्थानीय समिति र उद्योग सञ्चालकसँग छलफल गरी प्रदुषण रोक्नेबारेमा उपयुक्त निर्णय लिनेछौं । 

अन्तमा, निर्वाचनअघि देवचुलीबासीलाई दिएका आश्वासनहरुका बारेमा के भन्न चाहनुहुन्छ ? 

बास्तवमा हामी धेरै ठूला आश्वासन र गर्नै नसकिने केही पनि सपना बाँडेका छैनौं । हामीले अहिले देखापरेका स्वास्थ्य, शिक्षा, रोजगार, सुकुम्बासीलाई लालपूर्जा, किसानलाई मल बिउ जस्ता अत्यावश्यक विषयहरुहरु कार्यान्वयनमा ल्याउने गरी अघि बढ्ने योजना बनाएका छौं । देवचुलीबासीलाई राहतको महशुस हुने गरी नै काम गर्नेछौं । नगरबासीले प्रत्यक्ष लाभको महशुस गर्ने गरी काम गर्नका लागि खाका कोर्दैछौं । खाका कोरिसकेपछि त्यसलाई योजनामा लैजाने र देवचुलीको विकास र साँच्चिकै परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्न हामी प्रतिवद्ध छौं ।