नेपाल बारको अधिकाशं पदमा सत्ता गठबन्धनको अग्रता


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
नेपाल बारको अधिकाशं पदमा सत्ता गठबन्धनको अग्रता
काठमाडौँ । नेपाल बार एशोसिएसनको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीले अग्रता लिएका छन्।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि मंगलबारदेखि जारी मतगणना बुधबार दिउँसोसम्म पनि कायम नै रह्यो जसको मत परिणाम अनुसार सबै पदमा सत्ता गठबन्धन निकटका उम्मेदवारले अग्रता लिएका छन्। अध्यक्षमा कांग्रेस निकट गोपालकृष्ण घिमिरले एक हजार ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले निकट विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन्। महासचिवमा गठबन्धनकै उम्मेदवार माओवादी निकट अन्जिता खनालले ९ सय ६० मत पाउँदा एमाले निकट केदारप्रसाद कोइरालाले ६ सय ५७ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। अन्य पदाधिकारी र सदस्यमा पनि सत्ता गठबन्धनकै उम्मेदवारहरु अग्रस्थानमा छन् ।

कानुन व्यवसायीहरुको छाता संगठन बारको नयाँ नेतृत्व चयनका लागि चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो।  निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो।