पोखराको मेयर समाजवादीलाई दिने निर्णयविरुद्ध कांग्रेस कार्यालयमा ताला


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
पोखराको मेयर समाजवादीलाई दिने निर्णयविरुद्ध कांग्रेस कार्यालयमा ताला
पोखरा।  नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले कास्की जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको छ। सत्तारुढ गठबन्धनले पोखराको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेको विरोधमा कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे ।

महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।