पूर्वमन्त्री प्रेम आलेविरुद्धको रिट खारेज


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
पूर्वमन्त्री प्रेम आलेविरुद्धको रिट खारेज
काठमाडौ । सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन खारेज गरेको छ।

 यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रीविरुद्ध अश्लील अभिव्यक्ति दिएको र सामाजिक मूल्य मान्यताविपरीत समाजमा नकारात्मक असर पर्ने दाबी गर्दै रिट निवेदन खारेज गर्ने आदेश गरेको हो।

मन्त्री आलेको अश्लील गालीगलौज गरेको असार ५ मा पछिल्लो अडिओ सार्वजनिक भएको थियो। उनले अश्लील शब्द प्रयोग गर्दै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई गाली गरेको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। यस अघि अछाम घर भै भारतको मुम्बई बस्ने जगत ओलीलाई अश्लील गाली गरेको खबर सामाजिक सञ्जालमै सार्वजनिक भएको थियो। त्यसैलाई आधार मान्दै मन्त्रीको अभिव्यक्तिविरुद्ध अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।  

मन्त्री पदमा बसेर सार्वजनिक मर्यादा र आचारण उल्लंघनको विवादले पदमा बसिरहन योग्य नरहेको भन्दै बर्खास्तीको माग रिट निवेदकले दाबी गरेका छन्। मन्त्री आलेलाई आगामी निर्वाचनमा प्रतिस्पर्धामासमेत रोक लगाउनेगरी निर्देशनात्मक आदेश रिट निवेदनमा माग गरिएको थियो।