सद्भावना पार्टीका नेता बद्री मण्डलको निधन


खबरस्टोरी संवाददाता
८ पुष २०८२, मंगलवार
सद्भावना पार्टीका नेता बद्री मण्डलको निधन

काठमाडौँ । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा मंगलबार बिहान गृहनगर विराटनगरमा उनको निधन भएको हो । 

२०५४ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेदेखि मधेस, मधेसी र मधेसवादका लागि अन्तिमसम्म लडेका मण्डल ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पार्टी छाडेर मन्त्री बनेका थिए ।  ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन गएपछि उनी फेरि मधेस फर्किएका थिए ।

गजेन्द्रनारायण सिंहको निधनपछि उनी नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भएका थिए । तर राजविराजमा भएको चौथो महाधिवेशनबाट मण्डललाई पार्टीबाट हटाउने प्रयास भएको थियो । भरतविमल यादव, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, रामेश्वर राय यादवलगायत नेताहरू मण्डललाई पार्टीबाट हटाउने  प्रयास सत्ता शक्तिको कारण असफल भएको थियो । अन्ततः पार्टी नै विभाजन भयो । गजेन्द्रनारायणकी श्रीमती आनन्दीदेवी सिंहलाई अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन हुँदा उनी आनन्दीदेवीतिरै लागेका थिए । 

नेपाल सद्भावना पार्टीको अध्यक्ष भएका मण्डलले २०६१ सालमा ज्ञानेन्द्र शाहलाई समर्थन गरि उपप्रधानमन्त्रीसम्म हुन सफल भएका थिए । तर पार्टीभित्र चर्को विरोध भएपछि उनले पार्टी अध्यक्ष पदबाट राजीनामा गरेका थिए । उनको राजीनामापछि लक्ष्मण लाल कर्ण कार्यवाहक अध्यक्ष बनेका थिए । 

ज्ञानेन्द्रको शासनपछि लामो समय निष्क्रिय रहेका मण्डल केही समय राजेन्द्र महतोको सद्भावना पार्टीमा पनि सहभागी थिए । 

पछि नेपाल सद्भावना पार्टीलाई रामकुमार महतोले निर्वाचन आयोगमा दर्ता गराएर पुनर्जीवित गरेपछि पार्टीमा जोडिएका मण्डल पछिल्लो समय पार्टीको वरिष्ठ नेता थिए ।