दैलेखमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी


खबरस्टोरी संवाददाता
२६ बैशाख २०७९, सोमबार
दैलेखमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी
दैलेख। दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।  

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए । गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने, चालक गाडीभित्रै सुतिरहेको थिए । 

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए। 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार स्कर्पियो गाडीको पछाडि पट्टीको दाँया टायरको बाहिरी भाग जलेको छ भने गाडीमा अन्य कुनै क्षति नभएको र थप अनुसन्धान भइरहेको छ ।