विमानस्थलको समस्या समाधान गर्न गृहमन्त्रीको खाँणको निर्देशन


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
विमानस्थलको समस्या समाधान गर्न गृहमन्त्रीको खाँणको निर्देशन
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। उनले विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका हुन् ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाणले ती तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले यात्रुहरूले समस्या पाइरहेको गुनासो आएपछि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समाधानका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 

बैठकमा मन्त्रालयका तर्फबाट गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी पनि सहभागी थिए ।