वीरगन्ज महानगरको बजेट ३ अर्ब ३३ करोड ६३ लाख


खबरस्टोरी संवाददाता
११ असार २०७९, शनिबार
वीरगन्ज महानगरको बजेट  ३ अर्ब ३३ करोड ६३ लाख
वीरगन्ज । मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष ०७९÷८० का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष ०७९÷८० का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११औँ नगर सभाको अधिवेशनमा उपमेयर इम्तियाज आलमले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

महानगरपालिकाको आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक आय तथा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदानसमेतबाट एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, मधेस प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, युनिसेफबाट २५ लाख रुपैयाँ जुटाउनुका साथै उल्लेखित स्रोत परिचालन गर्दा नपुग हुन आउने ४४ करोड १९ लाख ५९ हजार चालू आवको अन्त्यमा स्थानीय सञ्चित कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने व्यवस्था मिलाइएको छ ।