विद्यालय तनावग्रस्त, आगजनी र तोडफोडपछि परीक्षा प्रभावित


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
विद्यालय तनावग्रस्त, आगजनी र तोडफोडपछि परीक्षा प्रभावित
चितवन । नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ५ स्थित जनक माध्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले दुब्र्यवहार गरेको भन्दै विद्यार्थीले गरेको आन्दोलनले विद्यालय तनावग्रस्त बनेको छ । आइतबार अपरान्ह आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तोडफोड र आगजनी गरेका छन् । विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रालाई दुब्र्यवहार गरेको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनरत विद्यार्थीहरुले आइतबार विद्यालय परिसरमा राखिएको आरोपित शिक्षक घिमिरेको ना २४प ६६१५ को मोटरसाइकल र विद्यालयका प्रधानाध्यापक चुणामणि शर्मा कँडेलको प्र–३०२ प २७७६ नम्बरको मोटरसाइकलमा आगजनीसमेत गरेका छन् ।

विद्यार्थीहरुले विद्यालयको भौतिक संरचनाहरु तोडफोड र आगजनी गर्न थालेपछि ठूलो संख्यामा परिचालन गरिएको प्रहरीले आन्दोलनरत विद्यार्थीमाथि ६० सेल अश्रुग्यास प्रहार गरेको थियो ।  विद्यार्थीको प्रदर्शन रोक्न इलाका प्रहरी कार्यालय गैंडाकोट र रजहरबाट ६४ प्रहरी, सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म पितौजीबाट १५ जनाको टोली परिचालन गरिएको थियो ।

आन्दोलन उग्र बन्दै गएपछि थप मद्दतका लागि नेपाल प्रहरी शिक्षालबाट प्रहरी निरीक्षकको कमाण्डमा ५० जना, जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जनाको टोलीसमेत खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आरोपित शिक्षक घिमिरेलाई प्रहरीले अनुसन्धानका लागि आइतबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

आन्दोलनरत विद्यार्थीहरुले विद्यालयको बेन्च, कुर्ची, कम्प्युटर, सीसीटीभी, झ्यालका शिसाहरु, रजत जयन्ती स्मारक, गमला, खानेपानी धारा लगायतका विद्यालयका भौतिक संरचनाहरु तोडफोड गरिदिएका छन् । गत चैत २८ गते शिक्षकले विद्यार्थीमाथि गरेको दुब्र्यवहारको घटनाकोबारेमा पीडित पक्षले प्रशासनमा उजुरी भने दिएका छैनन् । 

विद्यालयको वार्षिक परीक्षा प्रभावित 

विद्यालयमा भएको तोडफोड र आगजनीपछि विद्यालयमा जारी वार्षिक परीक्षसमेत प्रभावित भएको छ । 

विद्यालयका प्रधानाध्यापक कँडेलले सोमवार सूचना जारी गर्दै विभिन्न कक्षाको परीक्षा स्थगित भएको जनाएका छन् । 

विद्यालयमा भएको असामान्य परिस्थितिको कारण जनाउँदै कक्षा ६, ७ र ९ को परीक्षा सोमवार स्थगित गरिएको छ । 

कक्षा १ देखि ५ र कक्षा ८ को परीक्षा भने सञ्चालन गरिएको छ । 

साथै कक्षा ११ र १२ को कक्षा भने अनिश्चितकालका लागि बन्द गरिएको विद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।