बुढेसकालका आमाहरुको पढाईको कथा


खबरस्टोरी संवाददाता
८ माघ २०७८, शनिबार
बुढेसकालका आमाहरुको पढाईको कथा

पोखरा । सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् ।

सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो बैकल्पिक विद्यालयले पूरा गरिदियो ।

३०७३ सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा लिन थालेकी तिलिजाले गत वर्ष एसईई दिने तयारी गरेकी थिइन् । परीक्षामा सहभागी भएर प्रतिष्पर्धाबाटै एसईई पास गर्ने विश्वास लिएकी उनलाई परीक्षा भने दिनु परेन ।

कोरोना संक्रमणको जोखिमका कारण लगातार दुई वर्ष आन्तरिक मूल्याङ्नको आधारमा निकालिएपछि ६० वर्षीया महिला तिलिजासँगै नौ जना महिलाले एसईई उत्तीर्ण गरे । 

भुलुमायासँगै एसईई उत्तीर्ण गरेकी ५५ बर्षिय लालकुमारी सापकोटा पनि बाल्यकालको पढ्ने रहर पूरा भएकोमा खुशी देखिन्छिन् ।

म्याग्दी बेनी बस्ने ३७ वर्षीया सबिना नेपालीले पनि आफ्नो उमेर अवस्थामा पढ्न पाइनन् । बाल्यकालमा पढ्न नपाएकी सबिनाले बृद्धाआमाहरुसँगै पढेर एसईई उत्तीर्ण गरिन् । सबिनालाई सानो उमेरमा पढ्ने रहन नभएको होइन । तर आर्थिक अवस्था कमजोर भएका कारण उनको बाल्यकाल घाँस दाउरामा बित्यो । उमेर गएपछि पनि पढ्ने चाहना पूरा भएकोमा उनीहरु औधी खुशी छन् ।

भुलुमाया, लालकुमारी, सबिनासँगै ४८ वर्षीया भुलकुमारी तिलिजा, ३६ वर्षकी तिर्सना भण्डारी, ३० वर्षिया रेणु विक, २८ वर्षकी पुष्पा शाही, २५ वर्षकी र २४ वर्षकी ललिता तिलिजाले पनि यो वर्ष एसर्ईई परीक्षा उत्तीर्ण गरे ।  

विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष राजेश शाक्यकाअनुसार वि.स. २०७३ सालमा स्थापना भएको यो विद्यालयमा २० भन्दामाथिका ६८ जना महिलाहरु अध्ययनरत छन् । ऊबेला कालोपाटीमा कखरा लेख्नुपर्ने आमाहरुलाई प्रविधिको विकासले गर्दा अहिले कम्प्युटरमा पढ्ने सौभाग्य मिलेको छ ।  

प्रदेश सरकार, नगरपालिका तथा शिक्षा विकास समन्वय इकाईको आर्थिक सहयोगबाट पढ्ने अवसर पाएका आमाहरु सामाजिक कामहरु पनि उत्तिकै सक्रिय देखिन्छन् ।