काठमाडौँ । नेपालका १५ वर्षीय विद्यार्थी अनुराग पंगेनीले सन् २०२५ को भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।
‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा नेपालका पंगेनी तेस्रो भएका हुन् । पंगेनीले अन्तर्राष्ट्रिय युवा प्रतियोगिता ‘भ्रष्टाचारविरुद्ध टुगेदर’मा तेस्रो स्थान हासिल गरेको रुसी दूतावासले जनाएको छ । दूतावासले पंगेनीलाई बधाईसमेत दिएको छ ।
अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचारविरुद्धको विश्वव्यापी लडाइँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।
आफूले बनाएको पोस्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा, लोभ र बेइमानीको प्रतिनिधित्व गर्नुका साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्छ भनेर देखाएको बताएका छन् । तर आशाको बारेमा आफ्नो पोस्टरको वास्तविक सन्देश भएको उनले बताए ।
प्रतियोगितामा अल्जेरियाकी १४ वर्षीया फतिमा रावन प्रथम, उज्वेकिस्तानका १४ वर्षीय सोख्जाखोन अब्लुल्लाइभ दोस्रो भएका दूतावासले जनाएको छ ।