काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले चैत १९ गतेदेखि शुरु हुने गरी बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । रुटिन अनुसार, चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ ।
चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिए ।
यसपटक फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।