एसइईको नतिजा असार मसान्तभित्र


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
एसइईको नतिजा असार मसान्तभित्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम बोर्डले जनाएको छ ।

बोर्डमा अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बताउदै कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको छ । सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड छ ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।