मजदुरका छोराछोरीले धानेको विद्यालय


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
मजदुरका छोराछोरीले धानेको विद्यालय
लमजुङ । लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथामिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । 

विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन्।’ ०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयलाई अहिले मजदुरका छोराछोरीहरुले मात्र बचाएको छ । 

शिशुदेखि देखि ५ कक्षासम्म पढाइ हुने बाल लक्ष्मी मन्दीर प्राथमिक विद्यालयमा जम्मा ३२ जना विद्यार्थी अध्ययानरत छन् । विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् । ‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रधानअध्यापक जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन । यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन् ।’

विद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी काम गर्न जान्छन् ।

विद्यालयका प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विदाको समयमा सिजनअनुसार जङगलमा निउरो र टुसा खोज्न जाने गर्छन् । निउरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् ।