काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बिहीबार दिल्लीका शहरहरुमा वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने वातावरण मन्त्री गोपाल रायले बताएका हुन् ।
'शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ', रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको हो ।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको बताइएको छ ।
'वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको' भन्दै बुधबार अदालतले दिल्ली सरकारमाथि सवाल उठाएको थियो ।
केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।