सीए पढेर आएका विद्यार्थीलाई त्रिविको ढोका खुल्यो


खबरस्टोरी संवाददाता
२८ फाल्गुन २०७८, शनिबार
सीए पढेर आएका विद्यार्थीलाई त्रिविको ढोका खुल्यो
काठमाडौं । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको ढोका खुला भएको छ । 

पाठ्यक्रम विकास केन्द्रको हालै बसेको बैठकले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरुलाई समकक्षता दिने निर्णय गरेको हो । इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट आएका विद्यार्थीले ‘चारित्रिक प्रमाणपत्र’ नबुझाएको भन्दै त्रिविले समकक्षता दिन अस्वीकार गर्दै आएको थियो । 

इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा सो सरहकै मान्यता पाउने भएका छन् । उनीहरुले अब चारित्रिक प्रमाणपत्रबिना नै माथिल्लो तहमा अध्ययन गर्न पाउनेछन् । त्रिभुवन विश्वविद्यालयले आफूहरुलाई समकक्षता नदिएको भन्दै सीएका विद्यार्थी आन्दोलित थिए । 

नेपालमा चार्टर एकाउन्ट कोर्ष नभएकै कारण आफूहरु बाहिर पढ्न जानुपर्ने बाध्यतालाई त्रिविले नबुझेको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए । त्रिविले समकक्षता प्रदान गरेपछि खुशी भएको विद्यार्थी रोश्ना दाहालले बताइन् । 

चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुले माघको तेस्रो साता त्रिविको रेक्टर अफिस र पाठ्यक्रम विकास केन्द्रमासमेत तालाबन्दी गरेका  थिए । आन्दोलनरत विद्यार्थीहरुलाई युवा सीएहरुले पनि साथ दिँदै आएका थिए । 

स्नातकोत्तर तहको हकमा भने समकक्षता दिने नदिनेबारेमा अझै निर्णय भइ नसकेको पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा.डा. पारसनाथ यादवले बताए । 

बिगत २ वर्षदेखिको अनेकौं चरण र शैलीको एकताबद्ध संघर्षको प्रतिफल स्वरुप समकक्षता पाउन सफल भएको विद्यार्थी नेता सुधन महतले बताए । 

यसअघि खुला विश्वविद्यालयबाट सीए पढेर आएकाहरुलाई त्रिविले समकक्षता दिएपछि दुई वर्षयतादेखि रोक लगाउँदै आएको थियो ।