शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बिनियोजन, ६ कक्षासम्म दिवा खाजाको ब्यवस्था


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बिनियोजन, ६ कक्षासम्म दिवा खाजाको ब्यवस्था
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री शर्माले संसदमा पेश गरेको आ.व. २०७९/८० को बजेटमा ८ सम्म पुर्याउने लक्ष्यका साथ आगामी आवका लागि दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार गरिने जनाएका छन् । 

हाल १ सय ४० स्थानमा रहेको ‘पढ्दै कमाउदै कार्यक्रम’ थप एक सय विद्यालयमा थप गरिएको छ ।  

रोजगारीमुलक शिक्षाका लागि विद्यालय शिक्षा सुधार, शिक्षासँग सीप कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख छ । 

विद्यालय तहको शैक्षिक सुधार कार्यक्रमका लागि ५ लाख रुपैयाँसम्म प्रधानअध्यापकले खर्च गर्न पाउने ब्यवस्था बजेटमा मिलाइएको छ । 

शहीद स्मृति विद्यालयहरुलाई प्राविधिक विद्यालयका रुपमा विस्तार गरिने उद्येश्यका साथ प्राविधिक शिक्षातर्फ ८ अर्ब ३० करोड बिनियोजन गरिएको छ । सामुदायिक विद्यालयलाई श्रेणीकृत गरिने तथा बिपन्न बालबालिकाको शिक्षा सुधारका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । 

डडेलधुरामा मेडिकल कलेजको स्थापनाको ब्यवस्था मिलाइनुका साथै मेडिकल शिक्षामा विदेशी विद्यार्थीलाई आकर्षित गरिने कार्यक्रम पनि अघि सारिने बजेटमा उल्लेख छ ।