मनी लाउन्ड्रिङ केसमा मुछिएकी अभिनेत्री ज्याकलीन नेपाल आउन पाइनन्


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
मनी लाउन्ड्रिङ केसमा मुछिएकी अभिनेत्री ज्याकलीन नेपाल आउन पाइनन्
बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज नेपाल नआउने भएकी छन् । उनी जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको ‘दबंग टुर रिलोडेड’ सहभागी नहुने भएकी हुन्। ज्याकलिन सलमानको दबंग टुरको सदस्य मध्ये एक हुन्। आयोजकहरूले ज्याकलीनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेका थिए।

उनले विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर गरेको निवेदनलाई बुधबार फिर्ता लिएकी छन्। अदालतमा मनी लाउन्ड्रिङ सम्बन्धी विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन् ।

ज्याकलिनले विदेश जाने अनुमतिका लागि दिल्लीको पटियाला हाउस कोर्टमा निवेदन दिएकी थिइन् । मनी लाउन्ड्रिङ केसमा मुछिएकी उनले नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी थिइन्। उनको केसको सुनुवाई भए पनि अदालतबाट केही आदेश नआएपछि उनले आफै निवेदन फिर्ता लिएकी हुन्।ज्याकलिनले १५ दिनको लागि अनुमति मागेकी थिइन् । उनका अनुसार मे २०–२१ मा अबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन चाहन्थिन् । अबुधाबी बाहेक ज्याकलिन फ्रान्स, नेपाल जानुपर्ने थियो । यस्तै, ज्याकलिन कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी थिइन् । साथै, नेपालमा दबंग टुरमा सामेल हुने कुरा पनि भएको थियो।

तर, ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई इडीले देश छोडेर जान रोक लगाएको थियो। केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो। सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।