आठ महिनाको अर्थतन्त्र : एक खर्ब ४७ अर्बको निर्यात, १३ खर्ब आठ अर्ब आयात


ऋतु बोहरा
२९ चैत्र २०७८, मंगलवार
आठ महिनाको अर्थतन्त्र : एक खर्ब ४७ अर्बको निर्यात, १३ खर्ब आठ अर्ब आयात
काठमाडौं।  मुलुकको अर्थतन्त्र संकटमा भन्ने हल्ला चलिरहे पनि उक्त हल्ला जस्तो मुलुकको अर्थतन्त्र संकटमा नरहेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार निर्यातमा सुधार देखिएको र यसले वैदेशिक व्यापार घाटाको बृद्धिलाई केही हदसम्म रोकेका कारण पनि अर्थतन्त्र संकटमा रहेको भन्ने हल्ला निराधार भएको देखिएको हो । 

प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा कुल वस्तु निर्यात ८२ दशमलव नौं प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्ब ७५ करोड रुपैंयाँ पुग्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय चार दशमलव दुई प्रतिशत र २९ दशमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु आयात भने ३८ दशमलव छ प्रतिशतले वृद्धि भई १३ खर्ब आठ अर्ब ७३ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव एक प्रतिशत, ३६ दशमलव सात प्रतिशत र ७५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फभने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा भने ३४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २१ अर्ब ३६ करोड बराबरको भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।