१० अर्ब रुपैंयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
१० अर्ब रुपैंयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ। सरकारको लागि नेपाल राष्ट्र बैकले भोलि बिहिबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा ऋणपत्र बिक्री गर्न लागिएको हो । 

दुई बर्षे अवधिको विकास ऋणपत्र २०८१ “ङ” (२ बर्षे) नाम दिएको सो ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैंकको भनाई छ । २०७९ जेठ ६ गते निष्काशन मिती तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ जेठ ६ गते तोकिएको छ । 

ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुबिधा रहेको उक्त ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ । 

राष्ट्र बैंकका अनुसार घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।