बाग्मती किनारको ‘रेल स्टेशन’ !


सुष्मिता भण्डारी
२५ जेष्ठ २०७९, बुधबार
बाग्मती किनारको ‘रेल स्टेशन’ !
काठमाडौं । काठमाडौंको बाग्मतीमा सफा पानी बगिसकेको छैन । ढल बग्ने नदी भए पनि त्यही बाग्मतीछेउका करिडोर काठमाडौंको आकर्षण बन्दै गएको छ ।  केही वर्षअघि फोहरका थुप्रोले दुर्गन्धित देखिने नदी किनारबाट सडक निर्माण भएपछि भने सहरको रुप फेरिएको छ । शान्तिनगरदेखि थापाथलीसम्मको बाग्मति करिडोर अहिले ब्यवसायिक केन्द्रका रुपमा विकास हुँदै गएको छ । 

बबरमहलको बाग्मती करिडोर छेउमा एक वर्षअघिदेखि सञ्चालनमा आएको छ, रेल स्टेशन । 

रेल स्टेशनको अगाडि बाग्मती नदी छ, नदी पारी ठूलै क्षेत्रफल ओगटेको यूएनपार्क छ । पार्कबाट रेल स्टेशन देखेर मान्छे मात्रै वारपार गर्न मिल्ने फलामे पुलबाट रेल स्टेशन आइपुग्छन् भने कोही सामाजिक सञ्जालमा देखेर यहाँसम्म आइपुग्छन् । 

काठमाडौंमा ‘मेट्रो रेल’ सञ्चालन गर्ने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रेल विभागको कार्यालय स्थापना गरे पनि काम नभइरहेकाबेला अर्घाखाँचीका तीन युवा मिलेर रेल स्टेशन बनाएका हुन् । 

तर अर्घाखाँचीका तीन युवाहरु सुदन बन्जाडे, जनक क्षत्री र दीपक पौडेलले यात्रु बोकेर गुड्ने रेल नभई विभिन्न परिकारका खानाहरु खान भनी ग्राहकका लागि बनाएको रेष्टुरेन्ट मात्र हो । 

झण्डै दुई वर्ष कोभिड संक्रमणका कारण ब्यवसायहरु अस्तब्यस्त भइरहँदा तीन युवाले रेलकै आभाष दिलाउने गरी डिब्बाहरु बनाएर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

विद्यालय पढ्दाखेरिका दौंतरी युवाहरु मिलेर खोलेको रेष्टुरेन्टमा रेलका तीन वटा डिब्बा रहेका छन् । तिनै रेलको डिब्बाभित्र बसेर खान मिल्ने टेबल सजाइएका छन् । जसमा ग्राहकले रेलमा बसेर खाएको अनुभूति गर्छ । 

ग्राहकलाई आकर्षित गर्न ब्यवसायीहरुले विभिन्न शैलीहरु अपनाइरहँदा युवाहरुले रेल सम्झाउने गरी रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । गत वर्ष साउनदेखि सञ्चालनमा ल्याएको यो रेष्टुरेन्टमा रेल बनाउन मात्रै पाँच लाख रुपैयाँभन्दा बढी खर्च लागेको सुदनले बताए । 

झण्डै एक करोड लगानीमा गत वर्षको लकडाउन खुलेपछि सञ्चालनमा ल्याइएको रेल स्टेशनमा थरीथरीका ग्राहकहरु आउने गरेका छन् । 


कसरी बन्यो ‘रेल स्टेशन’को अवधारणा ? 

लकडाउनको समयमा सुदन र उनका साथी साथी कामको शिलशिलामा थिए । अर्को एकजना साथी विदेशबाट आए । 

‘हामीमा आफ्नै नयाँ फरक तरिकाको विचार भएका कारण र तीनै जनालाई रेस्टुरेष्टमा रुची भएकाले रेल स्टेशनको अवधारणा ल्यायौं ।’– बोल्ने समयसमेत नपाएका सुदनले सुनाए ।  अब नेपालमै बसेर केहि गर्न पर्छ भन्ने सोंचका साथ नयाँ तरिकाको व्यवसाय रेल स्टेशन सुरु भएको सञ्चालक मध्येका एक दीपकले बताए । 

रेस्टुरेन्ट बनाउनमा सम्पूर्ण आइडिया, डिजाइन र मेहेनत तीनै जना युवाको छ । अर्घाखाँचीको सन्धीखर्क एउटै गाउँमा हुर्किएका भए पनि आ–आफ्नो जीवनमा व्यस्त भएका कारण उनीहरु एकअर्काबीच झन्डै ७ वर्षपछि भेट भयो । सात वर्षपघिको युवा चिन्तनले नयाँ परिकल्पनामा ‘रेल स्टेशन’ बन्यो । 

‘हाम्रा देशका नेताले रेल चढाउने एउटा आशा मात्र देखाए तर हामी वास्तविक रेल नभए पनि केहि समयको लागि रेल जनतालाई चढाउने विचारले काम सुरु गर्यौ ।’– उनीहरुले हाँस्दै सुनाए । 

नयाँ कन्सेप्टमा गरिएको यो ब्यवसायप्रति ग्राहक पनि आकर्षित हुने गरेकाले उनीहरु खुशी देखिन्छन् ।  


के के बन्छन् परिकार ? 

रेल स्टेशनमा अन्य रेस्टुरेन्टमा पाइने सामान्यतः सबै परिकारका खानेकुरा तयार हुन्छन् । भारतको विभिन्न सहरमा रहेको साँच्चिकैको रेल स्टेशनमा अवस्थित रेष्टुरेन्टहरुमा पाइने परिकारहरु यो रेष्टुरेन्टमा पनि पाइन्छ । 

सामान्य पाइने परिकारसहित धेरै जसो रेलमा खाइने पकौडा, बिर्यानी, समोसा, कटिङ चिया लगायतका परिकार यो रेल स्टेशनमा बन्छ । यो रेस्टुरेन्ट अरु भन्दा फरक भएका कारण हेर्नकै लागि पनि ग्राहकहरु दिनप्रतिदिन बढ्दै गएका छन् ।  

‘खानाहरु पनि स्वादिष्ट भएका कारण ग्राहकहरु फर्कीफर्की आउने गर्छन् । हामीलाई ग्राहकबाट एकदमै राम्रो प्रतिक्रिया आएको छ । हामी ग्राहकको प्रतिक्रियाबाट उत्साहित छौं ।’– सुदनले भने ।  

‘मैले जागिर छोडेर यस नयाँ काम गर्ने सोच बनाए’, सुदनले भने’– ‘हामी यस क्षेत्रलाई अझ व्यवस्थित तरिकाले सञ्चालन गरि ग्राहकको मन जित्ने छौं ।’