बक्यौता उठाउन आक्रामक बन्दै उड्डयन प्राधिकरण, कालोसूचीमा राख्ने चेतावनी


खबरस्टोरी संवाददाता
६ चैत्र २०७८, आईतवार
बक्यौता उठाउन आक्रामक बन्दै उड्डयन प्राधिकरण, कालोसूचीमा राख्ने चेतावनी
काठमाडौं। बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ। रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको हो ।

सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षाैैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको  स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ । उक्त्त रकम समयमै चुक्त्ता नभए बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले  ६ लाख १० हजार कस्मिकले  ३ करोड ४७ लाख, स्काइलाइनले  ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।