बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट
काठमाडौं ।  बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मंगलबार ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरेका हुुन् । 

सो अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नबीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए । अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको संख्यामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नबीकरण गर्न पाउने भएबाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु सुशीलदेव सुवेदी र दिनेश कुमार लाल उपस्थित रहेका थिए । कार्यक्रममा समितिका निर्देशक कमल प्रसाद रेग्मीले इजाजतपत्रको डिजिटल नबीकरणका बारेमा चर्चा गरेका थिए भने कार्यक्रम संचालन समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गरेका थिए । 

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली संचालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को कनेक्ट आईपिएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि बीमा सर्भेयर र बीमा अभिकर्ताले कनेक्ट आईपिएसको साईटमा गएर सेमी गर्भरमेन्टमा रहेको बीमा समितिको लोगोमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नबीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टममा ले नै क्याल्कुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद पिडिएफ फम्र्याटमा प्रिन्ट गर्न सकिनेछ ।

संस्थागत बीमा सर्भेयरले कनेक्ट आईपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नबीकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आईपिएस मार्फत नबीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नबीकरण हुनेछ । 

यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आईपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नबीकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नबीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ । त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टमा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिश भएर आएपछि सम्वन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।

नवीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् । अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भए सँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाट नै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुई सय ५० र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ ।

यसरी गर्न सकिने छ  बीमा सर्भेयर र बीमा अभिकर्ताहरुले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण 

१. कनेक्ट आईपिएस लग इन गर्ने

२. पेमेन्ट ट्यावको सेमिगर्भरमेन्ट ट्यावमा क्लिक गर्ने 

३. बीमा समितीको लोगा भएको ट्यावमा क्लिक गर्ने

४. एजेन्ट वा सर्भेयर कुन हो सो ट्यावमा क्लिन गर्ने

५. अन्य मागेका आफ्ना विवरणहरु सवमिट गर्ने