बाणिज्य बैंकहरुको ९ महिनाको नाफा ५१ अर्ब


ऋतु बोहरा
१० बैशाख २०७९, शनिबार
बाणिज्य बैंकहरुको ९ महिनाको नाफा ५१ अर्ब
काठमाडौं । सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको नौं महिना अर्थात तेस्रो त्रैमासिक अवधिसम्ममा ५१ अर्ब एक करोड ७८ लाख २१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशत अर्थात २७ करोड ५३ लाख ११ हजार रुपैंयाँले बढी हो । 

गत आवको सोही अवधिमा भने बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए । 

खुद मुनाफा आर्जनमा ग्लोवलको अग्रता 

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आ व को तेस्रो त्रैमासमा ग्लोवल आईएमई बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, प्राईम कमर्सियल बैंक र एनएमबी बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकहरुको सूचीमा क्रमश पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं स्थानमा परेका छन् । यी बैंकहरुले पछिल्लो अवधिमा क्रमशः तीन अर्ब ७२ करोड ६२ लाख, तीन अर्ब ५० करोड ४५ लाख, तीन अर्ब ३५ करोड ५२ लाख, दुई अर्ब ७२ करोड २० लाख र दुई अर्ब ६६ करोड ५२ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । 

चालु आ.व.को तेस्रो त्रैमासमा राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, मेगा बैंक र सिद्धार्थ बैंकले भने क्रमशः दुई अर्ब ६१ करोड ६७ लाख, दुई अर्ब ४७ करोड ७२ लाख, दुई अर्ब १९ करोड २९ लाख, दुई अर्ब एक करोड ४५ लाख र दुई अर्ब आठ करोड ८५ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमासमा सिटिजन्स, नेपाल बंगलादेश, कृषि बिकास र कुमारी बैंकले भने क्रमश एक अर्ब ५८ करोड ९६ लाख, एक अर्ब ११ करोड ११ लाख, एक अर्ब ९० करोड ५३ लाख र एक अर्ब ८० करोड २७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । 

यसैगरी हिमालयन बैंक, एभरेष्ट बैंक, स्टान्र्डड चार्टड बैंक र प्रभु बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ३९ करोड १५ लाख, एक अर्ब ५१ करोड ६२ लाख, एक अर्ब ६२ करोड ८७ लाख र एक अर्ब ७५ करोड २९ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । 

चालु आवको तेस्रो त्रैमासमा माछापुच्छ«े, सानिमा, एनसीसी र सेञ्चुरी कर्मसियल बैंकले भने क्रमशः एक अर्ब ५५ करोड १७ लाख, एक अर्ब ५९ करोड २६ लाख, एक अर्ब ४८ करोड ७७ लाख र एक अर्ब एक करोड ५६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । 

लक्ष्मी बैंकको नाफा सबैभन्दा कमजोर 

सञ्चालनमा रहेका बैंकहरु मध्ये लक्ष्मी बैंकको नाफा सबैभन्दा कमजोर रहेको छ । नेपाल एसबिआई बैंक, सनराइज बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं र लक्ष्मी बैंकले चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ३० करोड, एक अर्ब २७ करोड ७३ लाख, ९० करोड ४१ लाख २३ हजार, ८७ करोड सात लाख ८१ हजार र ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।