१९ बुँदे मागसहित आन्दोलनमा लगानीकर्ता, नेप्से अगाडि प्रदर्शन


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
१९ बुँदे मागसहित आन्दोलनमा लगानीकर्ता,  नेप्से अगाडि प्रदर्शन
काठमाडौँ। सेयर बजारमा निरन्तर गिरावट आएपछि सेयर लगानीकर्ताहरुले संघर्षरत आन्दोलन थालेका छन् । सेयर लगानीकर्ताहरुले मङ्गलबार अपरान्ह ३ बजे नेपाल स्टक एक्सचेन्जको कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । 

शेयर बजारको सुधारको लागि लगानीकर्ताले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका हुन् । पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन भएको छ।

सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा पनि  गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले चरणबद्ध रुपमा कार्यक्रमहरुको घोषणा गरेका छन्।

उनीहरुले  वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने, कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने, ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुपर्ने, .गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने,  नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने जस्ता माग राखेका छन्।