एकै पटक तीन वटा जीवन बीमा कम्पनीद्धारा मर्जरको लागि सम्झौता


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
एकै पटक तीन वटा जीवन बीमा कम्पनीद्धारा मर्जरको लागि सम्झौता
काठमाडौं। तीन वटा जीवन बीमा कम्पनीहरुले एकै पटक मर्जरको लागि सम्झौता गरेका छन् । यूनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुरांस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड  बिच एक आपसमा गाभिने सहमती भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । 

यी कम्पनीको उदेश्य पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नु जनाईएको छ ।

त्यस्तै, तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गरिने भएको छ । 

मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन् । सोही उदेश्य  अनुरुप बिग मर्जरको लागि सम्झौता गरिएको ति कम्पनीहरुले जानकारी दिएका छन् ।