काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै नयाँ वर्ष २०७९ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका बिभिन्न जातजातीका गरगहना र पहिरनलाई क्यालेण्डरमा समाबेश गरेको थियो । बैंकले नयाँ क्यालेण्डरमा मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उनले बताए ।
करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।
कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिए ।
अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गरेका थिए ।