ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक


खबरस्टोरी संवाददाता
१३ चैत्र २०७८, आईतवार
ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै नयाँ वर्ष २०७९ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच क्यालेण्डर सार्वजनिक गरेका हुन् ।  

ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका बिभिन्न जातजातीका गरगहना र पहिरनलाई क्यालेण्डरमा समाबेश गरेको थियो । बैंकले नयाँ क्यालेण्डरमा मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरेको छ ।  

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उनले बताए । 

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।   

कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिए । 

अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गरेका थिए ।