ग्लोबल आइएमई लघुवित्तको मुनाफा २६ प्रतिशतले वृद्धि


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
ग्लोबल आइएमई लघुवित्तको मुनाफा २६ प्रतिशतले वृद्धि
 काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालन चालू आर्थिक वर्ष  २०७८/०७९ को  चैत मसान्तसम्म मुनाफा वृद्धि भएको छ ।

ग्लोबल आइएमईले सोमवार सार्वजनिक गरको चालू आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले कम्पनीको सञ्चालन मुनाफा वृद्धि भएको हो । 

कम्पनीले तेस्रो त्रैमाससम्ममा ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा २५ करोड ७९ लाख रूपैयाँ आर्जन गरको थियो । 

तर, कम्पनीको खुद नाफामा भने कमी आएको छ । चालू आवको तेस्रो त्रैमासम्ममा यो कम्पनीले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा ३ प्रतिशत कम हो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४२ करोड ६ लाख रुपैयाँ कायम भएको छ । 

कम्पनीको १ दशमलव ९८ प्रतिशत खराब कर्जा रहेको छ। वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकीकरण ४९ दशमलव ४२ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा छ । 

हाल कम्पनीको ५५ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ३३ करोड ८ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ६७ प्रतिशतले वृद्धि भएको हो ।