पाँच दलीय गठबन्धन सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कर्मचारीको तलब वृद्धि गर्नेदेखि ६८वर्षमै वृद्धभत्ता दिने रहेका छन् ।
कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेका छन् ।
निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए ।
हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने पनि मन्त्री शर्माले बजेट भाषणमा उल्लेख गरे ।
६८ वर्षकै उमेरमा वृद्धभत्ता
सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । अर्थमन्त्री शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् ।
हाल सरकारले ७० वर्ष पुगेका वृद्ध नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।
ग्यास विस्थापित, विजुलीको अधिकतम उपभोग
सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान ल्याएर ग्यास सिलिण्डर विस्थापित गर्ने नीति लिएको छ ।
खाना पकाउन विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि नै सिंहदरबार भित्र ग्यास प्रयोगमा रोक लगाइ विद्युतीय चुल्हो जडान गरिने जनाइएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले खाना पकाउने बायोग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए ।
एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने पनि उनले बताए ।
सुत्केरी महिलालाई पोषण भत्ता पाँच हजार
सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।
मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने अर्थमन्त्री शर्माले जानकारी गराए ।
५ लाखसम्म कमाउनेलाई १ प्रतिशतमात्रै कर
सरकारले आयकरको सीमा हेरफेर गर्दै पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, दम्पत्तिको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बजेट भाषणमार्फत जानकारी दिए ।
विद्यमान व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।
अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन
सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो ।
सरकारी संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।
सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यबस्था गरेको अर्थमन्त्री शर्माले बताए ।
चितवनबाट एक घण्टामै काठमाडौं
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । चितवनबाट एक घण्टामै काठमाडौं पुग्न सकिने गरी द्रुतमार्ग निर्माण गरिने अर्थमन्त्री शर्माले बताए ।
काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने मन्त्री शर्माले बजेट भाषणमा उल्लेख गरे ।