ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहनुभएको उल्लेख गर्दे एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा माननीय अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको उल्लेख गरे । अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीयरुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।
अध्यक्ष सिलवालले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३ दशमलव ३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए । गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६ दशमलव ३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५ दशमलव ४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने बताए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए । बीमा समितिका निर्देशक दिनेश कुमार लालले समितिले विगतमा नभएका धेरै काम गएको एक वर्षमा नै सम्पन्न गरेको विचार व्यक्त गरे ।