कृषि विकास बैंकद्वारा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम शुभारम्भ


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
कृषि विकास बैंकद्वारा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम शुभारम्भ
काठमाडौं। कृषि बिकास बैंकले मधेश प्रदेशमा कृषिको समावेशी रुपानतरणका लागि मूल्य श्रृंखला शुभारम्भ कार्यक्रम गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को वित्तीय सहयोगमा अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी महोत्तरीको बर्दिवासमा एक कार्यक्रमबीच विधिवतरुपमा शुभारम्भ भएको हो ।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव श्री गजेन्द्र कुमार ठाकुर, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह,  आईएफएडीका परामर्शदाता तथा कन्सल्टेन्ट श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो भने कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका संचालक राजेन्द्र मिश्र विद्युतिय माध्यम जुममार्फत जोडिएका थिए । 

यस कार्यक्रममा कृषि विकास बैंक जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागिहरुलाई स्वागत गर्दे कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको बिस्तृत रुपमा जानकारी दिंदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरु, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका संभागहरु र मूल्य श्रृंखला बिकासका लागि लिक्षित कृषि बस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताए । सहभागीहरुको जिज्ञासाहरु संवोधन गर्ने क्रममा आईएफएडीका परामर्शदाता श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धि बनाउदै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको जानकारी गराए । 

त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यम द्धारा परम्परागत रुपमा रहेको निर्वाहमुखि कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथी डा. झा ले बताए । मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेश बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिह र अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा प्रकाश पार्दै भिटा कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्वन्धमा सुझाव सहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए । कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंकका संचालक राजेन्द्र मिश्रले जुममार्फत किसानहरुमा सहुलियत दरमा वित्तिय पहूँच पुर्याउन यो कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउदै भिटा कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व बृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवर्धन  हुने गरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बताउदै मन्त्रालयको तर्फबाट पूर्णसाथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

यस कार्यक्रमको अध्यक्षता गरेका बैंकका प्रमुख कार्यकारी अधिकृतले सबै सहभागीहरुलाई धन्यवाद दिंदै मधेश प्रदेशका कृषिको सम्भावना प्रसस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रुपमा सही तरीकाले आपूर्तीकर्ता, कृषक, प्रशोधनकर्ताहरुलाई बजार मागको अधारमा मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी तथा मुख्य अतिथीहरुलाई व्याच वितरण गर्ने कार्य कृषि विकास बैकका विभागिय प्रमुख तथा आयोजना निर्देशक बिना शर्माले र कार्यक्रमका संचालन बैंकका बरिष्ठ शाखा प्रमुख प्रेम प्रसाद खनालले गरेका थिए ।