खानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन मन्त्री चौधरीको निर्देशन


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
खानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन मन्त्री चौधरीको निर्देशन

काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएकाछन । 

नेपाल खानेपानी संस्थान ३२ वर्ष पुरा गरी ३३ औं वर्षमाप्रवेश गरेको अवसरमा आइतबार संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित वार्षिकोत्व कार्यक्रमका प्रमुख अतिथि मन्त्री चौधरीले संस्थानले खानेपानीको बढ्दो मागलाई संवोधनगर्न सेवाक्षेत्र विस्तार गर्न निर्देशन दिए । ‘सरकारले शिक्षा र स्वास्थ्यमा आमनागरिकलाई निशुल्क गरे जस्तै खानेपानी सेवा पनि निशुल्क गर्न मैले पहल गरिरहेको छु’, मन्त्री चौधरीले भने, ‘संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहूँचलाई मौलिक हकको रुपमा पत्याभूति गरेकाले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।’

हरेक नेपालीलाई निशुल्क खानेपानीको सेवा बिस्तार तत्काल सम्भव नभएपनि सरकारले न्युन शुल्कमा खानेपानी वितरण कार्य कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री चौधरीले खानेपानीको शुल्क निर्धारण आयोग केही दिनमै गठन गरिने जानकारी दिए । मन्त्री चौधरीले आयोगले खानेपानीको व्यवहारिक र सर्वसुलभ शुल्क निर्धारण गर्ने गरी सुझाव दिने विश्वास व्यक्त गरे । उनले संस्थानले मुलुकका २३ वटा नगर क्षेत्रमा मात्र सेवा दिईरहेको भन्दै विस्तारको लागि निर्देशन दिए । 

खानेपानीको गुणस्तरिय सेवा देशव्यापी पुर्याउने मन्त्रालयको लक्ष्य भइरहेको बेला काभ्रेमा संस्थानले स्थापना गरेको कारखानाबाट जारमा मिनरल वाटर उत्पादन र वितरण गर्ने कार्य बन्द नहुने भन्दै मन्त्री चौधरीले संस्थानका कर्मचारीहरुले कुनै बहाना नगरी इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उहाँले समस्याबाट भाग्नु भन्दा समस्या समाधानको लागि मन्त्रालय तयार रहेको बताए । उनले संस्थानका संचालक र कर्मचारीले राजनीतिक पूर्वाग्रह त्याग रेर काम गर्नु पर्नेमा जोड दिए । 

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानीको महसुल प्रत्येक २ वर्षमा पुनरावलोकन गर्न, विगतका सबै आर्थिक वर्षको लेखापरिक्षण गर्न, ४५ प्रतिशत खानेपानीको चुहावट घटाएर १५ प्रतिशतमा झार्न, पारदशी, मित्तव्ययी र उत्तरदायी भएर काम ग र्न कर्मचारीहरुलाई निर्देशन दिए । 

सचिव आचार्यले खानेपानीका सफल आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण हुँदै जाने र घाटामा गएका खानेपानीका आयोजनाको दायित्व संस्थानले बेहोर्दै जाँदा संस्थानको भविश्य धरासयी हुने बताए । उनले संस्थानले उत्पादन गरेको जारको पानी उत्पादनको मात्रा बढाउने र सबै मन्त्रालय तथा सरकारी कार्यालयलाई विक्री गर्नु पर्ने सुझाव दिए । संस्थानको कर्मचारी युनियनका प्रतिनिधि समिर पण्डितले करार सेवा, ज्यालादारी कर्मचारी संस्थानमा धेरै रहेको भन्दै संस्थानको बिनियम परिवर्तन गरी आन्तरिक प्रतिष्पर्धाबाट एक पटकको लागि स्थानी गर्नु पर्ने माग गरे । पण्डितले भरतपुर, हेटौंंडा र धरानजस्ता सफल खानेपानी योजनाहरु हस्तान्तरण हुने तर घाटामा गएका आयोजना भने संस्थानले दायित्व लिने परम्पराले सस्थान कमजोर हुन सक्ने बताए । 

संस्थान संचालक सहितिका अध्यक्ष गुणखर भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा संचालक समितिकी सदस्य नीरकुमारी कुँवर, सस्थानका महाप्रबन्धक ईश्वर प्रसाद लगायतले संस्थानले चालु आर्थिक वर्षमा संस्थानको सुधारका लागि भएका कार्यको विवरण प्रस्तुत गरेका थिए । 

सो अवसरमा संस्थानका अवकास प्राप्त कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान गरियो । यस्तै गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिलिङ गर्ने ५ वटा खानेपानी शाखहरु धनगढी, बिराटनगर, बुटबल, गौसाला, हेम्जा र भद्रपुरलाई पुरस्कृत गरियो । त्यस्तै, संस्थानका उत्कृष्ठ कर्मचारीहरु रिक्त बहादुर भुजेल, शान्ति कुमारी ज्ञावली, राममाया घलान, शान्ति श्रेष्ठ, रत्नप्रसाद चौधरी लगायतलाई पुरस्कृत गरिएको थियो ।