चिनियाँ कम्पनी र बुटवल पावर कम्पनी बीच २ देखि ५ वर्षमा ३ अर्ब डलर लगानी गर्ने गरी साझेदारी गरिएको छ। सो प्रक्रियाको पहिलो चरणमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण लागिएको छ । १ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट निर्माणको लागि यस्तो सम्झौता गरिएको हो। यो आयोजनामा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एमसीआइजी इन्टरनेशनल लिमिटेडको ४९.४७ प्रतिशत, छिङचोङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यू वाइ इसी इन्टरनेशनल कम्पनी लिमिटेडको ११.६४ प्रतिशत सेयर स्वामित्व रहनेछ।
त्यसपछि १३९ मेगावाटको लोअर मर्स्याङ्दी र ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकास गरिनेछ। यी आयोजनाहरूबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। अन्य आयोजनाहरूमा पनि चिनियाँ लगानीमा निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो।
बि.स. २०२० सालमा स्थापना भएको बुटवल पावर कम्पनी एक पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले ३७.६ मेगावाटको कावेली “ए” हाईड्रोपावर प्रोजेक्ट र ३० मेगावाटको न्यादी हाईड्रोपावर प्रोजेक्टको सुरुवातगरेको छ। बिपिसिले १२ मेगावाटको झिम्रुक र ९.४ मेगावाटको आँधिखोला पावर प्लान्ट संचालन गर्दै आएको छ।
बुटवल पावर कम्पनीले यसअघि नै चिनियाँ कम्पनीहरू सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एमसीआइजी), चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेड (क्यू वाइ इसी) बीच नेपालका विभिन्न जलविद्युत् आयोजना विकास सम्झौता गरिसकेको छ।