हालको आर्थिक समस्या समाधानका लागि मौद्रिक उपकरणलाई अझै कडाइका साथ अघि बढाउने संकेत गरेको हो। यतिबेला बजारमा ऋण प्रवाहका लागि बैंकहरूसँग तरलता अभाव भइरहेको र एकातिर तरलता अभाव र अर्कोतिर विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएकाले नेपाली अर्थतन्त्रले दोहोरो दबाब झेल्नु परेको छ ।
यस्तो अवस्थामा मध्यावधि समीक्षाकै व्यवस्थालाई निरन्तरता दिइने राष्ट्र बैंकले उल्लेख गरेको छ।
’मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ। मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ’ त्रैमासिक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि गत महिना नेपाल आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधि मण्डलले आयात प्रतिबन्ध लगाउनुको साटो मौद्रिक नीति मार्फत नियन्त्रण गर्न सुझाव दिएको थियो। सोही सुझाव अनुसार नै राष्ट्र बैंकले ब्याजदर तथा अन्य उपकरण मार्फत आर्थिक स्थायित्वका लागि काम गर्ने उल्लेख गरेको छ। बैंकले कोरोना महामारी कालमा ल्याइएका सहुलियत प्याकेजलाई विस्तारै हटाउँदै जाने यसअघिकै नीतिलाई निरन्तरता दिएको छ।