निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो


खबरस्टोरी संवाददाता
५ चैत्र २०७८, शनिबार
निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो
काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरु मध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । 

गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१ दशमलव ६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३० दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर पाँच प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । 

अहिले बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा ४१ खर्ब ७२ अर्ब रुपैयां पुगेको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयांले बढेको छ भने कर्जा प्रबाह १७  अर्ब रुपैयांले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९० दशमलव शुन्य तीन प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको छ ।

नेपालभर २१३ शाखाहरु, १४७ एटिएमसाथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दे प्रतिस्पर्धिरुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटो छरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेडप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ ।