निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । 

गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने आठ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर छ दशमलव २३ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । 

औसतमा  बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९ दशमलव ६५ प्रतिशत) रहेको छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ८८ प्रतिशत रहेको छ ।

देशभर दुई सय १३ वटा शाखाहरु, एक सय ७० वटा एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ । 

विगत केहि बर्ष यता बैंकले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।