नेपाल बैंकले देशैभरी भब्यरुपमा मनायो “ग्लोबल मनी वीक”


खबरस्टोरी संवाददाता
१६ चैत्र २०७८, बुधबार
नेपाल बैंकले देशैभरी भब्यरुपमा मनायो “ग्लोबल मनी वीक”
काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशैभरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी ग्लोबल मनी वीक भब्यरुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । 

ग्लोबल मनी वीक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनी वीक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । 

बाग्मती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब पाँच हजार सहभागी रहेका थिए । नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले  आफ्ना १६० शाखाहरुबाट करिब १५००० सहभागीहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको जानकारी दिएको छ ।