प्राधिकरणका उप निर्देशक रेवतीराम पन्थले सोमबार एक विज्ञप्ति जारी गर्दै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका कार्य गैरकानुनी भएकाले त्यस्ता क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको जनाएका छन्।
अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको मन्त्रीस्तरको निर्णयानुसार अनुरोध भएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
यसअघि नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सचेत रहन अनुरोध गरेको थियो। विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा मात्रै यसको प्रयोगकर्ता संख्या ४ लाख २३ हजार ८ सय ४० जना रहेको छ ।