पूर्वी नेपालको झापाबाट कोदोको रक्सीलाई ब्रान्ड बनाउने तयारी थालिएको हो । गाउँघरमा बनाइने कोदोको रक्सीले बजार नपाएको अवस्थामा घरेलु उत्पादनलाई प्राथमिकता दिन र विदेशी रक्सीको आयात कम गर्न कोदोको रक्सीलाई ब्रान्डिङ गर्न लागिएको हो ।
कोदोको रक्सीलाई ब्रान्ड बनाउन शर्मिला आङ्देम्बेको संयोजकत्वमा २१ सदस्यीय झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । झापा जिल्लाभरिका सबै जातजातिलाई समावेश गरेर झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको हो । प्रवद्र्धन समितिका सदस्य शर्मिला सिंघकले कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न सके आयआर्जनको मुख्य थलो बन्ने बताइन् ।
उनले कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न झापासहित प्रदेश नं. १ का १४ वटै जिल्लामा कार्यसमिति निर्माण गरिने बताइन् ।
प्रवद्र्धन समितिका प्रदेश १ संयोजक टेकबहादुर खजुमले प्रदेश १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरी परियोजना पास गरिएको बताए ।
उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिक मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गामलगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।
प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।