नयाँ वर्षमा नबिल बैंकको क्यास ब्याक योजना सुरु


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
नयाँ वर्षमा नबिल बैंकको क्यास ब्याक योजना सुरु
काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । 

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जानकारी दिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्षरुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ, बैंकले भनेको छ ।

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवाक्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा पाँच प्रतिशत वा अधिकतमप्रति कारोबार दुई सय रुपैयाँ र प्रतिदिन प्रति मर्चेन्ट अधिकतम पाँच सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो योजना २०७९ बैशाख एक गतेदेखि लागू हुनेछ ।

योजनामार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।