प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि १४ गतेसम्म प्लाष्ट नेपाल २०२२ आयोजना गर्ने


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि १४ गतेसम्म प्लाष्ट नेपाल २०२२ आयोजना गर्ने
काठमाडौं।  प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेठ महिनाको १२ देखि १४ गतेसम्म अर्थात मे महिनाको २६, २७ र २८ तारिखका दिन काठमाण्डौंको भृकुटी मण्डपमा प्लाष्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । 

फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको संस्थाले जानकारी दिएको छ ।  अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् । 

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र यसले नेपालमा प्लाष्टिकको दिगो वृद्धिको लागि निरन्तर काम गरिरहेको संस्थाले जनाएको छ  ।

त्यस्तै नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको संस्थाले जानकारी दिएको छ ।