पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बिनियोजन


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बिनियोजन
काठमाडौं । पूर्वपश्चिम राजमार्ग सुधारका लागि सरकारले ३० अर्ब ५० करोड बिनियोजन गरेको छ ।  

पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने लक्ष्यका साथ अघि बढ्ने बजेट भाषणमा उल्लेख गरिएको छ । 

यस्तै, चितवनबाट एक घण्टामा काठमाडौं पुग्न सकिने गरी द्रुतमार्ग निर्माण गरिने छ । चन्द्रगिरी–चित्लाङ–पालुङ द्रुतमार्ग निर्माण गरिने उल्लेख छ ।  

आगामी आ.व.मा सडक पूर्वाधार अन्तर्गत ८ सय किमी सडक सञ्जाल विस्तार गरिने उल्लेख गरिएको छ ।

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । 

निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए । 

फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन

सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । 

आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । 

यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए ।