पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध जनकपुरधाममा प्रदर्शन


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध जनकपुरधाममा प्रदर्शन
काठमाडौँ । सरकारले आइतबार रातिबाट लागु हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरूद्ध प्रदर्शन गरिएको हो ।

युवाहरूले बीच सडकमै मोटरसाइकल तेर्स्याएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । जनतालाई पाँच दलीय गठबन्धनको सरकारले  राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, ई–रिक्सा र सिलिण्डरहरूलाई बीच सडकमै राखेर सांकेतिक रूपमा विरोध गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा जनतालाई असर परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने स्थानीय यूवा अभियन्ता सुशील कर्णले बताए ।

जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले जीविका चलाउन निकै कठिनाइ भएको कर्णले बताए । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य वृद्धि गरेको छ  ।