पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने, कहिलेबाट र कति घट्ला इन्धनको मूल्य ?


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने, कहिलेबाट र कति घट्ला इन्धनको मूल्य ?
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ। सरकारले यसअघि पनि बजेटबाटै थप गरेको करलाई यो वर्षको बजेटले कर घटाउने विषयलाई सम्बोधन गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । 

निगमलाई घाटा हुँदा कर नलिने र नाफा भएको बेला कर लिने गरी निर्णय आउन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । 

आयल निगमले ८ जेठमा जारी गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० मा बेच्दा १४.६४ रूपैयाँ, डिजेल १६३ मा बेच्दा २६.८२ रूपैयाँ प्रतिलिटर घाटा छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पनि १८ सय रूपैयाँमा बेच्दासमेत ८७९.७५ रूपैयाँ घाटा छ ।

निगमलाई पछिल्लो मूल्यअनुसार १५ दिनमै ३ अर्ब ३५ करोड रूपैयाँ घाटा रहेको उल्लेख छ । सरकारले पेट्रोलमा ६३.२३ रूपैयाँ र डिजेल ४५.९१ रूपैयाँ र ग्यासमा ३२७.३७ रुपैयाँ र मट्टितेलमा १३.६६ रूपैयाँ कर लिइरहेको छ ।

 हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर/शुल्क लाग्ने गरेको छ ।