काठमाडौं। नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आधा सदस्य पद रिक्त भएपछि बैठक नै अन्योलमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन तथा सञ्चालकद्वय डा श्रीराम पौड्याल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सञ्चालक समिति बैठक नै अन्योलमा परेको हो ।सरकारले छानविन समिति गठन गरेपछि गभर्नर अधिकारी चैत २४ गतेदेखि निलम्बनमा छन् । सञ्चालकद्वय पौड्याल र रेग्मीको कार्यकाल शुक्रवार सकिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्थाअनुसार सञ्चालक समिति बैठकमा अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भए मात्र गणपूरक संख्या पुग्छ । गभर्नरको निलम्बन र दुईजना सञ्चालकको कार्यकाल समाप्तिपछि सञ्चालकको संख्या चारजनामा झरेको छ ।
कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना, अर्थसचिव मधुकुमार मरासिनी र डेपुटी गभर्नर बमबहादुर मिश्रमात्र बैठकमा उपस्थित हुने भएकाले गणपूरक संख्या पुग्दैन । राष्ट्र बैंक सञ्चालक समितिमा ७ जना रहने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने समितिमा दुईजना डेपुटी गभर्नर, अर्थसचिव र तीनजना विज्ञहरू सञ्चालक हुने व्यवस्था छ । सञ्चालक समिति बैठकमा अध्यक्षता गर्ने गभर्नर र कम्तीमा तीनजना सञ्चालक उपस्थित भएमात्र गणपूरक संख्या पुगेको मानिने प्रावधान छ ।
समितिको बैठक आवश्यकताअनुसार बस्ने भए पनि महीनामा कम्तीमा एकपटक बस्नैपर्ने कानुनी व्यवस्था छ ।