राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने, बोलकबाेल कहिले ?


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने, बोलकबाेल कहिले ?
काठमाडौँ। नेपाल राष्ट्र बैकले बिकास ऋणपत्र जारी गर्ने भएको छ । गत सोमबार अर्थात जेठ पाँच गते १० अर्ब रुपैंयाँको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले भोलि पुन: १० अर्ब रुपैंयाँको दुई बर्षे अवधिको बिकास ऋणपत्र २०८१ “च” (दुई वर्षे) बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्ने छन् ।  निष्काशन मिति २०७९ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ जेठ १३ तोकिएको राष्ट्र बैंकको भनाई छ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेकोमा ऋणपत्रमा अर्धबार्षिक रुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।